काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपालमै छाप्ने तयारी थालेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आज आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्न सकिने विषयमा अनौपचारिक सहमति भएको सञ्चार मन्त्रालयले जनाएको छ।
छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानालगायतका कर्मचारीको उपस्थिति थियो।
सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र छाप्ने विषय अत्यन्त महत्वपूर्ण रहेको बताए। यसले स्वदेशमा आयआर्जन हुनुका साथै रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले छपाइलाई यथाशीघ्र निरन्तरता दिइने उनको भनाइ थियो।
मन्त्री गुरुङले एक–दुई दिनभित्रै लाइसेन्स छाप्ने विषयमा यातायात मन्त्रालय र केन्द्रसँग सहमति गरी छपाइ सुरु गरिने जानकारी दिए। उनले यही वर्षभित्रै छपाइ सुरु गर्ने लक्ष्य रहेको बताए।
छलफलले सुरक्षण मुद्रण केन्द्रले करिब ३० लाख लाइसेन्स छाप्न सक्ने निष्कर्ष निकालेको छ।