पाल्पा । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई कालीगण्डकी नदीमा जोड्ने देशकै पहिलो नमुना पुलको निर्माण कार्यले गति लिन सकेको छैन। थाई डिजाइनरले डिजाइन गरेको यो पुलको निर्माणको म्याद सकिन लाग्दा भौतिक प्रगति जम्मा ७० प्रतिशत मात्र भएको छ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी चितवनको हिम शिखर सगरमाथा प्रा.लीले २०७९ सालको असार ३१ गते २७ करोड ७१ लाख ९ हजार ६ सय रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तर निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै काममा ढिलाई गरिरहेको स्थानीयवासीको भनाइ छ।
राम्दीका स्थानीय नन्द किशोर अमात्यका अनुसार २०२८ सालमा निर्मित १२ टन भारवहन क्षमताको पुरानो पुल कालीगण्डकी जलविद्युत परियोजनाका लागि अत्याधिक भार भएका सवारी साधन गुड्दा भत्केको थियो। मर्मत सम्भारको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गरेका थिए। ठूलो प्रयासपछि पुल निर्माणको प्रक्रिया अगाडि बढे पनि निर्माण कम्पनीले समयमा काम पूरा गर्न नसकेको उनले बताए।
राम्दीमा निर्माण हुने १२० मिटर लामो यो पुल नेपालकै पहिलो बिना स्पानको नमुना पुल हो। यस्तो डिजाइनको पुल भुटान र दुबईमा प्रशस्त भए पनि नेपालमा पहिलो पटक बन्न लागेको हो। सिद्धार्थ राजमार्ग बनेपछि नदीमा फेरीबाट सवारी वारपार हुने गरेकोमा यो पुल बनेपछि बाह्रै महिना आवतजावत गर्न सहज हुने स्थानीय राम प्रसाद अर्याल बताउँछन्। निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्षसम्म काम सुरु नगरेको र बाँकी दुई वर्ष पनि सुस्त गतिमा काम गरेको कपिल दर्लामीले बताए। निर्माण कार्यालय पोखरामा भएकाले पनि काममा ढिलाई भएको उनको भनाइ छ।
पाँच दशक पुरानो पुल हलुका सवारी साधन गुड्दा पनि हल्लिने र नटबोल्ट कहिले फुस्कने हो भन्ने त्रास थियो। नयाँ पुल निर्माण हुन लागेकोमा खुसी भए पनि ठेक्का सम्झौताको एक वर्षसम्म निर्माण कम्पनी नआउँदा आशा मरेको स्थानीय खुमकला श्रेष्ठ बताउँछिन्। २०२८ सालमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उद्घाटन गरेको यो पुलमा पहिला सवारीको चाप नभए पनि अहिले भारतदेखि चीनको सिमानासम्म ४० टन क्षमताका सवारी साधन गुड्ने भएकाले नयाँ पुलको आवश्यकता भएको स्थानीयवासी बताउँछन्। बिना स्पानको नयाँ प्रविधिबाट निर्मित यो पुलले तराईदेखि हिमालसम्म व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण भूमिका खेल्ने स्थानीयको विश्वास छ।