धनगढी। भारत र पाकिस्तानबीचको पछिल्लो युद्धको असर नेपालका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ। भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा जाँचमा कडाइ गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले गौरीफन्टा नाकामा आवतजावत गर्ने सबै नागरिकमाथि कडा निगरानी सुरु गरेको छ। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख डीएसपी प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र र भारतीय आधार कार्ड देखाउनुपर्ने बताएका छन्।
डीएसपी धामीले भने, ‘सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ।’ युद्धको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा जोखिम कम गर्न जाँच बढाइएको उनको भनाइ छ।
नेपाल प्रहरीले पनि सीमामा निगरानी बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले गौरीफन्टासहित भारतसँग जोडिएका सबै नाकामा कडाइ गरिएको बताए। ‘हामीले चेकजाँच बढाउनुका साथै चोरी, तस्करीजस्ता गैरकानुनी गतिविधि नियन्त्रणमा समेत ध्यान दिएका छौं,’ उनले भने। हालको अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।
यसैबीच, प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ।