वीरगञ्ज । दुई जना युवतीलाई भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा वीरगञ्जबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय रोजन भुजेल रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटमा प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुई युवतीलाई रोकेर सोधपुछ गरेको थियो।
आफन्त नेपालका कर्मचारीको उपस्थितिमा गरिएको सोधपुछका क्रममा उनीहरू शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धानका लागि कार्यालयमा ल्याएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा ती युवतीहरूसँगै रहेका रोजन भुजेलले उनीहरूलाई हेटौंडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभन देखाई बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले रोजन भुजेललाई तत्काल नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।