एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित गंगनानीमा आज बिहीबार एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनाग्रस्त हेलिकप्टर गंगोत्री धामतर्फ गइरहेको थियो।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी, राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF), राज्य विपद् प्रतिक्रिया बल (SDRF) र अन्य उद्धार टोलीहरू तत्काल घटनास्थलमा पुगेका छन्।
स्थानीय प्रशासनका अनुसार उद्धार कार्य अहिले पनि जारी छ भने गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यस दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रशासनलाई उनीहरूको उपचारमा कुनै कमी हुन नदिन र दुर्घटनाको कारणबारे तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।
हालसम्म दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन। भारतीय नागरिक उड्डयन प्राधिकरण (DGCA) ले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको बताइएको छ।