काठमाण्डौ । काठमाण्डौको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता गरिएकाहरूमा बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, वृहस्पती विद्या सदनका सञ्चालक प्रवीणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेय रहेका छन्। उनीहरूसँग ६० करोड ३९ लाख रुपैयाँ मागदाबी गरिएको छ।
यसअघि सीआईबीले अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको भए पनि मुद्दा चलाउन नपर्ने निर्णय भएको थियो। तर महान्यायाधिवक्ता कार्यालयले हस्तक्षेप गरी मुद्दा चलाउने निर्णय गरेपछि हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।
यो प्रकरणमा जोडिएका चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठको भने निधन भइसकेको छ।
अनाथ बालबालिकाको हितका लागि सरकारले भोगाधिकार दिएको जग्गालाई बिना प्रतिस्पर्धा पूर्वाधार निर्माण सम्बन्धी ऐनविपरीत वर्षौंसम्म भाडामा दिएको अभियोग उनीहरूमाथि लागेको छ। बाल सङ्गठनलाई १०२ रोपनी जग्गा र सीता महल सरकारले दिएकोमा २९ रोपनी जग्गा बृहस्पति स्कुललाई पटक–पटक एकलौटी रूपमा भाडामा दिएको आरोप छ। मिलेमतोमा व्यापारिक समूहलाई लाभ र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको उजुरीपछि सीआईबीले अनुसन्धान गरेको थियो।