काठमाडौं । वराज सुवेदीको नेतृत्वमा गठित राजसंस्था पुनर्स्थापनाको निमित्त जनआन्दोलन समिति पछिल्लो समय सक्रिय देखिएको छ। समितिको आयोजनामा आज, बैशाख २५ गते बिहीबार सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको छ।
उक्त घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस (बिपि) का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी र हिन्दुवादी संघ, संस्था तथा अभियानको सहभागिता रहने बुझिएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुवेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहने पुष्टि गरेका छन्। उनले भने, “कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ।” स्रोतका अनुसार कार्यक्रममा ५० भन्दा बढी संघसंस्थाहरूले आगामी आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी गरेका छन्।