हेटौंडा । हेटौंडामा जमिनमुनि गाडी बेपत्ता भएको घटनाको अनुसन्धान गर्न आएको भूगर्भविद्को टोली दुई दिनको अध्ययनपछि बुधबार काठमाडौं फर्किएको छ। हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर गाडी बेपत्ता भएको थियो।
खानी तथा भूगर्भ विभागको नारायण अधिकारीको नेतृत्वमा आएको चार सदस्यीय टोलीले घटनास्थलको भू-बनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रलगायतका विषयमा अध्ययन गरेको थियो। तर, असुरक्षाको कारण देखाउँदै अध्ययन रोकिएको अधिकारीले बताए।
फर्किने क्रममा अधिकारीले भने, ‘अहिलेलाई अध्ययन रोक्नैपर्छ। हामी हाम्रो सेफ्टीका कारण त्यो गर्न सक्दैनौं।’ अध्ययन कहिले सुरु हुन्छ भन्ने प्रश्नमा उनले पहिला रिपोर्ट दिने र त्यसपछि खानी विभाग र उपमहानगरको समन्वयमा आवश्यक भए अन्य निकायको सहयोगमा अगाडि बढ्न सकिने बताए।
अधिकारीका अनुसार अध्ययनले तत्काल यकिन कुरा पत्ता लगाउन सकेको छैन। तर, घटनास्थलमा बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरिएको छ, यद्यपि कति गहिराइमा छ भन्ने पत्ता लागेको छैन। म्याग्नेटोमिटरबाट प्राप्त विवरण अप्रत्यक्ष भएकाले त्यसलाई प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।