वीरगञ्ज । वीरगंज महानगरपालिकाले नगरका होटल व्यवसायीहरूसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास र पर्यटकीय गतिविधि बढाउने विषयमा विस्तृत छलफल गरेको छ। बुधबार महानगरपालिकामा आयोजित कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले सबै होटल व्यवसायीलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गर्दै कानूनी रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रमुख सिंहले कर प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै करको दायरा विस्तार गरिने जानकारी दिए। यद्यपि, महानगरले व्यवसायीहरूलाई थप आर्थिक भार नपर्ने नीति अवलम्बन गर्ने उनको भनाइ थियो। उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न महानगरपालिका कटिबद्ध रहेको बताउँदै एकद्वार सेवा प्रणालीमार्फत सेवाहरूलाई डिजिटलाइज गर्ने तयारी भइरहेको जानकारी गराए।
पर्यटन प्रवर्द्धनलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको पनि प्रमुख सिंहले स्पष्ट पारे। पर्यटकहरूलाई आकर्षित गर्न र शहरलाई थप घुम्न योग्य बनाउन विभिन्न स्थानमा पार्क निर्माण र शहरी सौन्दर्यकरणका कार्यक्रमहरू अगाडि बढाइएको उनले बताए।
छलफलमा होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले व्यवसायीहरू कानूनी रूपमा व्यवसाय सञ्चालन गर्न इच्छुक रहेको उल्लेख गर्दै दर्ता प्रक्रियालाई सरल र छिटो बनाउन आग्रह गरे। महानगरको सकारात्मक पहलले व्यवसायीहरूमा आत्मविश्वास बढेको बताउँदै उनले सहकार्यका लागि व्यवसायीहरू तयार रहेको धारणा व्यक्त गरे। वीरगंजको पर्यटन विकासमा सांस्कृतिक कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने भन्दै पन्तले मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र गन्तव्य प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिए।
संघका महासचिव माधव वस्नेतले व्यवसाय दर्ता, कर प्रणाली र नक्सा पास प्रक्रियामा देखिएका व्यावहारिक समस्याहरूलाई सहज बनाइदिन महानगरपालिकासँग अनुरोध गरे। विगतमा यी प्रक्रियाहरू जटिल हुँदा व्यवसायीहरूलाई कठिनाइ भएको उनको भनाइ थियो।
छलफलमा सहभागी अन्य व्यवसायीहरूले वीरगंजलाई व्यवस्थित होटल सेवा र पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजस्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरब झा, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचिन्द थापा लगायत अन्य होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो।