काठमाडौँ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देवविरुद्ध राजस्व चुहावट गरेको कसुरमा उच्च अदालत पाटनमा १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय रुपैयाँको मुद्दा दायर गरेको छ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सञ्चालक देवलाई उक्त रकम असुल उपर गर्न तथा कैद सजायको मागदावी गर्दै सोमबार उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरिएको हो।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वरमा ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकिङ प्रणाली मार्फत नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।