काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सत्तापक्ष आफ्नो कमजोरी लुकाउन लागिपरेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न सबै समय प्रतिपक्ष दलको गालीमा खर्चिरहेको बताए।
उनले भने, “राम्रो काम गर्नु, लोकप्रियता कमाउनुको सट्टा आफ्नो कमजोरी र असक्षमता ढाकछोप गर्न सरकारले सबै समय प्रतिपक्ष दलको नेतृत्व र दलको गालीमा खर्चिएको छ। सरकार ढल्यो भन्ने बित्तिकै सत्तापक्षलाई किन रिंगटा लाग्छ? किन मुटु थरथरी काँप्छ? राम्रो काम गरे भइहाल्यो नि!”
कसैले बोलेमा सरकार ढलिहाल्ने भनेर डराउन आवश्यक नभएको उनले बताए। साथै, सत्ता साझेदार दलहरूबीच संसद्भित्रै घोचपेच भइरहेको पनि उनले उल्लेख गरे।
“सत्ता साझेदार दलभित्रै संसद्भित्रै, भर्खरै पनि किन घोचपेच? यसबाट जनताले के बुझ्ने? अनि आरोप प्रतिपक्षलाई?,” शाहीले प्रश्न गरे।
उनले सरकारको ध्यान भ्रष्टाचारी बढाउनमा केन्द्रित भएको गम्भीर आरोप समेत लगाए।