काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको तेस्रो कार्यकालको लागि प्रतिस्पर्धा गर्न खोजेको भन्ने कुरा असत्य भएको स्पष्ट पारेका छन्। आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै उनले आफू आठ वर्ष मात्र राष्ट्रपति पदमा रहने र दुई कार्यकालका लागि मात्र प्रतिस्पर्धा गर्ने बताए। उनले यो कुरालाई आफूले धेरै महत्त्वपूर्ण मानेको पनि उल्लेख गरे।
यसअघि ७८ वर्षीय ट्रम्पले तेस्रो वा चौथो कार्यकालका लागि राष्ट्रपति हुनेबारे प्रश्न गर्दा ठट्टा गरिरहेको छैन भनेका थिए। तर पछि उनले सञ्चारमाध्यमले ट्रोल गर्ने उद्देश्यले ती कुराहरू बाहिर ल्याएको बताए।
उनको कम्पनी ‘द ट्रम्प अर्गनाइजेसन’ले ‘ट्रम्प २०२८’ नारा लेखिएका टोपीहरू बिक्री गरिरहेको छ, जसले उनी जनवरी २०२९ मा दोस्रो कार्यकाल सकिएपछि पनि पदमा बस्न चाहेको अनुमानहरू बढाएको थियो।
फ्लोरिडास्थित आफ्नो निजी निवासमा शुक्रबार रेकर्ड गरिएको अन्तर्वार्तामा ट्रम्पले धेरै मानिसले उनलाई पदमा बसिरहन अनुरोध गर्ने गरेको बताए। उनले आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पूरा गरेको केही दिनपछि भने, “धेरैले मलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति भइदियोस् भन्ने चाहन्छन्। मेरो जानकारीमा यो गर्न मिल्दैन। यो संविधानविरुद्ध हो कि होइन, मलाई थाहा छैन।”
ट्रम्पले २०२८ को टोपी बेच्ने अरू पनि धेरै भएको भन्दै उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसहित धेरै रिपब्लिकन नेताहरूले उनको स्थान लिन सक्ने बताए।
अमेरिकी संविधानको २२ औँ संशोधनले कुनै पनि व्यक्तिलाई दुई पटकभन्दा बढी राष्ट्रपतिका लागि निर्वाचित हुनबाट रोक्छ। यसलाई परिवर्तन गर्न सिनेट र कंग्रेसबाट दुई तिहाइ बहुमत र देशका तीन चौथाइ राज्य सरकारहरूको समर्थन आवश्यक पर्छ।
ट्रम्पका केही समर्थकहरूले संविधानमा रहेका केही कानुनी छिद्रमार्फत तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न सकिने दाबी गरे पनि यो कानुनी व्यवस्था अहिलेसम्म अदालतमा परीक्षण भएको छैन। बीबीसी