वीरगन्ज । बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले फेटा गाउँपालिका वडा नम्बर–१, भर्वलिया टोलका दलित परिवारसँग भेटघाट गर्नुका साथै विकास योजनाको समेत अनुगमन गरेका छन् ।
फेटा भवर्लियामा वर्षौंदेखि बस्दै आएका उदयनारायण मली केही महिनादेखि पक्षाघातबाट पीडित छन्। सांसद श्रेष्ठले उदयनारायण मली (डोम) को स्वास्थ्य अवस्थाका जानकारी लिएर परिवारको पीडा कम गर्ने प्रयासलाई निरन्तरता दिएका छन् । श्रेष्ठले निर्माणाधीन सडक निर्माणमा देखिएका कठिनाइ र मलीको परिवारको आवास समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।
नागरिकता नभएका कारण गत वर्ष तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत विनियोजित ४ घरपरिवार डोम समुदायको आवास निर्माण हुन सकेन। फेटामा नागरिकता भएकाहरूका लागि भवन निर्माण भएको छ।
यसै क्रममा, श्रेष्ठको विशेष पहलमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको टोलीले उदयनारायण मलीको नागरिकता लगायतका समस्या समाधानका लागि छलफल गरेको छ।
स्थानीय प्रशासन सहित मलीको घरमा पुगेका सांसद श्रेष्ठ सहितको टोलीले गरेको पहलले मली र उनको परिवारले भोगिरहेको समस्या छिट्टै समाधान हुने आशा गरिएको छ।