काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले दोषी ठहर गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रामबहादुर थापाको इजलासले आइतबार यो फैसला सुनाएको हो।
अदालतले म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सीईओ अकबर हुसेनलाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार अदालतले प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ। यो रकम तीनै प्रतिवादीबाट दामासाहीले असुल गरिने फैसला भएको छ।
फैसला अनुसार विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनबाट जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्नेछ।
अदालतले अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ। विकल पौडेललाई दुई कसुरमा गरी दुई वर्ष कैद सजाय सुनाइएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद तोकिएको छ। पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिना कैद सजाय पनि सुनाइएको छ।