काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेको छ। यो गिरावटपछि नेप्से २६२० अंकमा कायम भएको छ।
आज सेयर बजारमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँले कम हो।
आज जलविद्युत् कम्पनीहरूको मात्रै ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कुल कारोबारको ५८.९ प्रतिशत हिस्सा हो। उच्च कारोबार भए पनि यो समूह आज ०.०९ प्रतिशतले घटेको छ।
अन्य समूहगत परिसूचकहरूमा, वित्त समूह १.३० प्रतिशत, लगानी समूह ०.८६ प्रतिशत, जीवन बीमा समूह ०.२८ प्रतिशत, लघुवित्त समूह ०.२५ प्रतिशत, व्यापार समूह ०.८४ प्रतिशत र अन्य समूह ०.०२ प्रतिशतले घटेका छन्। बैंकिङ समूह ०.१० प्रतिशत, विकास बैंक समूह ०.०६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, उत्पादन समूह ०.६२ प्रतिशत र निर्जीवन बीमा समूह ०.२३ प्रतिशतले बढेका छन्।
आज तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स रहेका छन्। ओम मेगाश्री फर्मास्युटिकल्स आजैदेखि कारोबारमा आएको हो र यसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ।
त्यसैगरी, अपरसोलु हाइड्रो इलेक्ट्रिकको मूल्य ९.८४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०४ प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ भने रिभरफल्स पावरको ७.५५ प्रतिशत र भूगोल इनर्जीको ६.१५ प्रतिशतले मूल्य घटेको छ।