काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पहिलो निवेदनमा भएको त्रुटि सच्याउन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता गराएका छन्। लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन्।
पहिलो निवेदनमा विपक्षीको रूपमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएको थियो, जुन सच्याएर ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ बनाउन माग गरिएको छ। यो त्रुटिका कारण म्याद बुझाउन अप्ठ्यारो परेको लामिछानेका वकिल एवं अधिवक्ता डा. नारायण कँडेलले जानकारी दिएका छन्।
यही वैशाख १७ गते दर्ता भएको उक्त निवेदन आज न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ। निवेदन सच्याउन आदेश भएपछि म्याद तामेलीसहित जवाफ माग्ने प्रक्रिया अघि बढ्नेछ।