रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथप्रसाद यादवले पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्।
माधवनारायण–६ माधोपुरमा आयोजित एक कार्यक्रममा मेयर यादवले ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। उनले सम्मानसँगै प्रत्येक ज्येष्ठ नागरिकलाई एकथान टर्च लाइट, झुल, बिस्कुट र च्यवनप्रास लगायतका सामग्री पनि प्रदान गरे।
मेयर यादवले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक रूपमा उचित रहेको बताए। उनले ज्येष्ठ नागरिकहरू वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भण्डार भएको र उनीहरूको ज्ञानलाई मार्गदर्शनको रूपमा उपयोग गर्न सके सबैलाई फाइदा हुने जानकारी दिए।
उक्त सम्मान कार्यक्रममा उपमेयर निर्मला देवी रमण, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, वडा नम्बर ६ का अध्यक्ष रामनरेश राय, वडा नम्बर ७ का अध्यक्ष योगेन्द्रप्रसाद कुशवाहा लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको उपस्थिति थियो।