हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयास गर्दा पनि फेला पार्न सकिएको छैन।
गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो। मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बाँस डुबाएर गाडीको पत्ता लगाउने प्रयास पनि सफल हुन सकेन।
पानी सुकाउने क्रममा खाल्डो वरपरको माटो खसेर पुरिँदै गएकाले खोजी कार्य थप जटिल बनेको डीएसपी अर्यालले बताए। उनका अनुसार खाल्डो वरपर जान सक्ने अवस्था पनि छैन र बाँस डुबाउँदा पनि गाडीको कुनै भाग भेटिएको छैन।
डीएसपी अर्यालले प्रहरी र स्थानीयहरूको सहयोगमा भोलि आइतबार पनि बेपत्ता गाडीको खोजी कार्य जारी राखिने जानकारी दिएका छन्।