काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीनवटा विषयमा सहमति भएको छ। आज काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि यो सहमति जुटेको हो।
सहमतिसँगै आवासीय चिकित्सकहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। सहमति अनुसार चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने, ‘म्याचिङ’का चिकित्सकका लागि यथाशीघ्र प्रक्रिया सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिइने र आवासीय चिकित्सकको बिदा सम्बन्धी विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने विषय तत्काल कार्यान्वयन गर्ने र नसक्ने विषयमा आयोगलाई निर्देशन दिने सहमति भएको छ।
सहमतिपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र सहमति कार्यान्वयन गरिने बताए। उनले सहमतिसँगै चिकित्सकहरू आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको जानकारी दिए।
मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकका लागि काम गर्ने वातावरण बनाइदिन आग्रह गरे। चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरू सबै कार्यान्वयन गर्ने गरी मन्त्रालयले वातावरण बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
उनले भने, “त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ – यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ। उहाँहरूसँग भएको सम्झौतालाई हामीले इमानदारितापूर्वक कार्यान्वयन गर्नेछौँ।”
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौँ तहसरह हुनुपर्ने, सुत्केरी बिदा, बिरामी बिदा र डिउटी आवर लगायतका विषय उठाएका थिए। मन्त्री पौडेलले आन्दोलनपछि निजी मेडिकल कलेजहरूले पनि आठौँ तहसरह भत्ता दिने प्रतिबद्धता गरेको र विभिन्न कलेजमा आवासीय चिकित्सक काममा फर्किसकेको जानकारी दिए। उनले सरकारको तदारुकता र निजी मेडिकल कलेजको प्रतिबद्धता अनुसार अब फेरि आन्दोलनमा आउनु नपर्ने विश्वास व्यक्त गरे।