सुर्खेत। कर्णाली प्रदेशमा लागुऔषधको कारोबार र दुरुपयोग तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा १०६ मुद्दामा १६८ जना पक्राउ परेकोमा २०८१/८२ को चैत मसान्तसम्म १२० मुद्दामा २०२ जना पक्राउ परिसकेका छन्।
कर्णालीका १० जिल्लामध्ये सुर्खेत, विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका लागुऔषधको कारोबार र दुरुपयोगको मुख्य केन्द्र (हटस्पट) बन्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी शिवकुमार श्रेष्ठले पछिल्ला वर्षहरूमा लागुऔषधको सेवन, ओसारपसार र बिक्रीवितरण तीव्र भएको बताए। लागुऔषध कारोबार र सेवनमा १८ देखि २५ वर्ष उमेर समूहका व्यक्ति, जसमा कृषक, मजदुर, विद्यार्थी र कम पढेका युवाहरू संलग्न रहेको प्रहरी तथ्याङ्कले देखाउँछ। यस उमेर समूहका ४८.५१ प्रतिशत व्यक्ति लागुऔषध कारोबार र सेवनमा जोडिएका छन् भने ५१.६७ प्रतिशत कारोबार राति १२ देखि बिहान ६ बजेसम्म हुने गरेको प्रहरीको भनाइ छ। बुधबार र बिहीबार तथा फागुन र चैत महिनामा कारोबार बढी हुने गरेको एसएसपी श्रेष्ठले जानकारी दिए।
लागुऔषध मुद्दामा सुर्खेतमा मात्र चालु आर्थिक वर्षको चैतसम्म ७८ मुद्दामा १२२ जना पक्राउ परेका छन्, जसमध्ये ६१ मुद्दा वीरेन्द्रनगरका छन्। लागुऔषध मुख्य रूपमा भारतको रूपइडिया र बर्दियाको बलरामपुरबाट कर्णाली भित्रिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। खुला सिमाना, सीमित सुरक्षाकर्मी, जनचेतनाको कमी, पुनर्स्थापना केन्द्रको अभाव, बेरोजगारी, गरिबी, संगठित गिरोह र सरकारी समन्वयको कमीले लागुऔषध नियन्त्रणमा चुनौती थपिएको एसएसपी श्रेष्ठले बताए। कानुनी र प्रशासनिक कमजोरीले पनि समस्या बढाएको उनको भनाइ छ।
नवज्योती केन्द्रकी जरमायाँ बाठाले लागुऔषध न्यूनीकरणमा स्थानीय र प्रदेश सरकारको सक्रियता आवश्यक रहेको बताइन्। वीरेन्द्रनगरमा लागुऔषधको कारोबार भुसको आगोजस्तै फैलिएको र प्रहरी एक्लैले यो रोकथाम गर्न नसक्ने उनको भनाइ छ। कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले योजनाबद्ध सामाजिक सचेतनाले मात्र यो समस्या समाधान हुने बताए। प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लागुऔषधमा पक्राउ परेका युवालाई छुटाउन अभिभावकले नेतामार्फत दबाब दिने प्रवृत्तिले समस्या बढाएको बताए। प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम र गाँजा फँडानी जस्ता प्रयास गरे पनि लागुऔषध दुरुपयोगको ग्राफ वर्षेनी बढ्दो क्रममा देखिएको छ।