सशस्त्र प्रहरी बल पर्साले वीरगञ्ज भन्सार कार्यालय नजिकै स्रोत नखुलेको नेपाली रुपैयाँ नौ लाख ५९ हजारसहित तीन भारतीय नागरिक र उनीहरू सवार भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीलाई भन्सार दाखिला गरेको छ।
२०८२ वैशाख १९ गते साँझ वीरगञ्ज–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट करिब ५० मिटर अगाडि त्रिभुवन राजपथमा सवारी साधन जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले उक्त गाडीलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा भारतको पश्चिम चम्पारण जिल्ला, बेतिया ग्राम पंचायत वडा नं. ७ बस्ने ५९ वर्षीय विजय प्रसाद, सोही जिल्लाको जौकटिया ग्राम पंचायत वडा नं. १२ बस्ने ४६ वर्षीय मनोज कुमार सहनी र पश्चिम चम्पारणकै छाउनी चोक ग्राम पंचायत वडा नं. २७ बस्ने ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्।
उक्त स्कार्पियो गाडीको भन्सार मूल्यांकन ३० लाख रुपैयाँ गरिएको छ। नियन्त्रणमा लिइएका व्यक्ति, नगद र गाडीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।