काठमाडौं । जनताको जलविद्युत् आयोजनाअन्तर्गत स्वदेशी पुँजी परिचालन गरी जलविद्युत् आयोजना अघि बढाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गरिने बताए। उनले वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्सलाई समेत जलविद्युत् आयोजनामा प्रयोग गरिने जानकारी दिए।
राष्ट्रपति पौडेलले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण गर्न घरायसी, कृषि, यातायात र पर्यटकीय क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाइने बताए। विद्युत् आपूर्तिको सहजताका लागि ठूला आयोजना निर्माण सरकारको प्राथमिकता रहेको र बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजनाहरूलाई अघि बढाइने उनले उल्लेख गरे।
ऊर्जा सुरक्षा कायम गर्न बहुउद्देश्यीय आयोजनाका लागि उपयुक्त मोडेल अपनाइने र राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने नीति सरकारले लिएको छ। प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण र अन्य आवश्यक नीतिगत नियमहरू पनि बनाइने राष्ट्रपति पौडेलले बताए।