वीरगन्ज । वीरगंज महानगरपालिका वडा नं १ बजार छपकैयास्थित दलित बस्तीमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, रुँगटा वेलफेयर सोसाइटी र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शुक्रबार शिविर सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यता र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न शिविरमा आँखा, कान र दाँतको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
उक्त शिविरमा नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा १३० महिला र ८० पुरुष गरी जम्मा २१० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले विपन्न समुदायमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस शिविरको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सेवा केन्द्रले समुदायको हितमा विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता सेवामुखी कार्यक्रमलाई प्राथमिकता दिने बताए। शिविरमा सामुदायिक आँखा अस्पताल वीरगंजका महेश सिंह धामी लगायत स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना, प्रहरी नायव निरीक्षक प्रदिप कुमार गोले, समाजसेवी कमल चौगाई, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य कैलाश बजाज, समाजसेवी लालबाबु गुप्ता, समाजसेवी श्याम प्रसाद साह, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम र प्रहरी सहायक हवल्दार अजिता घिमीरे लगायतको उपस्थिति रहेको थियो।