हेटौँडा। यातायात व्यवस्था कार्यालय हेटौँडा, मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख प्रवीण श्रेष्ठका अनुसार यो राजस्व नयाँ सवारी दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र वितरण लगायतका सेवाहरूबाट प्राप्त भएको हो।
कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड आठ लाख ७१ हजार तीन सय १४ रुपैयाँ, सवारी करबाट २८ करोड २७ लाख ३७ हजार दुई सय ९९ रुपैयाँ र यातायात क्षेत्रको आम्दानीबाट सात करोड १५ लाख ७६ हजार नौ सय ९२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यसैगरी, संघीयता तर्फ तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ रुपैयाँ र बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व प्राप्त भएको छ।
चालु आर्थिक वर्षको सोही अवधिमा कार्यालयले दुई हजार दुई सय ३४ वटा मोटरसाइकल, आठ सय ४७ वटा साना सवारी, छ सय २६ वटा टेम्पो/ई–रिक्सा, छ सय २४ वटा ठूला तथा मझौला सवारी र ११ वटा ट्याक्टर गरी कुल चार हजार तीन सय ५१ वटा नयाँ सवारी दर्ता गरेको छ। साथै, नयाँ चार हजार सात सय ८१ जना र वर्ग थप दुई हजार एक सय ६१ जना गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण तथा प्रतिलिपी जारी गरिएको छ।
उल्लेखनीय छ, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सो कार्यालयले विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो र चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।