जनकपुर। जनकपुरधामस्थित जानकी मन्दिरमा जानकी जन्मोत्सवको अवसरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ।
मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार, मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ। अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान हुनेछ। सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ।
जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाइगान गाइनेछ। मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम र वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ। सोही दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत हुने उत्तराधिकारी दासले जानकारी दिए। जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन तयारी गरिएको छ।