काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ।
सीआईबीले सोमबार विज्ञप्ति जारी गर्दै ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो। पक्राउ पर्नेहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी र चितवनका व्यक्तिहरू रहेका छन्।
सीआईबीका अनुसार, विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सको नाममा भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतका अवैध कारोबारमा संलग्न व्यक्ति तथा समूहले यो रकम परिचालन गरेका थिए। यसरी प्राप्त गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) मार्फत नेपालका बैंक खाताहरूमा जम्मा गर्न ‘मनी म्युल’हरूलाई प्रयोग गरिएको थियो।
उनीहरूले नेपाल राष्ट्र बैंकको आदेश र निर्देशनविपरीत कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कसुर उपर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।