काठमाडौँ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज देशभर प्रिमनसुन सक्रिय भएकाले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँमा तथा अन्य भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ।
पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको असरले प्रिमनसुन प्रणाली फेरि सक्रिय भएको मौसमविद्हरूले बताएका छन्। यो प्रभाव भोलिसम्म जारी रहने र विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्हरूले बर्खाअघिको यो प्रिमनसुन सक्रियता खेतीपातीका लागि फाइदाजनक हुने बताएका छन्। साथै, सम्भावित चट्याङ र हावाहुरीबाट सतर्क रहन पनि आग्रह गरिएको छ।