सप्तरी । सप्तरीमा आज मध्याह्न यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती रहेका छन्। अर्की एक महिलाको सनाखत हुन बाँकी छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०१–००१ ख ३४२० नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
डीएसपी काफलेका अनुसार च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको विराटनगरस्थित मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर, मध्यम र सामान्य चोट लागेका दुई दर्जन यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा ३५ जना सवार थिए।
प्रहरीले बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।