१४ वैशाख,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अभियोजनका लागि पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बुझाएको छ।
बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।
प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए। प्रतिवेदनमा ३० जना व्यक्ति, तीनवटा सहकारी र आठवटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको छ।
२ अर्ब ३० करोड १४ लाख २९ हजार ८२९ रुपैयाँ बिगो माग दाबी गरिएको छ। जसमध्ये १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३९५ रुपैयाँ कम्पनी र व्यक्तिबाट र बाँकी रकम सहकारीबाट लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग १ अर्ब १५ करोड ९१ लाख ४४ हजार, सूर्यदर्शन सहकारी संस्थासँग १ करोड २० लाख र आशा एण्ड इन्टरनेशनल प्रालिसँग ३७ लाख ९० हजार ३७९ रुपैयाँ फिर्ता लिनुपर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको प्रहरी प्रवक्ता लम्सालले बताए।
संसदीय छानबिन समितिको प्रतिवेदनका कारण यो मुद्दा उठान भएको हो। पर्सा प्रहरीलाई पनि अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको थियो। प्रहरीका अनुसार २०८० साउन २१ गते ५२ जना, २०८० भदौमा २०७ जना र २०८१ फागुन २ गते १७९ जनाले सानो पाइलाले रकम अपचलन गरेको भन्दै विभिन्न व्यक्तिलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए।