काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको सूचना सभामुखलाई पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो।
सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो। सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयदेखि फरार थिइन्।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव पदमा कार्यरत थिइन्। यो मुद्दामा उनलाई उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो। आइतबार, राईसहित पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। राईसमेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य रहेकी र पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन्।