काठमाडौं । ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। आज दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै तेस्रो संस्करणको च्याम्पियन बनेको हो। ललितपुर यस सिजन अपराजित रहँदै उपाधि जित्न सफल भयो।
ललितपुरको जितमा विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे। पोखरा थण्डर्सका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए।
यो जितसँगै ललितपुर एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ। ललितपुरले एनएसएलमा आफ्नो अपराजित यात्रालाई ११ खेलसम्म पुर्याएको छ। दोस्रो सिजनको अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुरले यस सिजनका सबै ८ खेल जितेको हो।
च्याम्पियन बनेको ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता पोखरा थण्डर्सले ३० लाख रुपैयाँमा चित्त बुझाएको छ।
खेलको पहिलो हाफमा इमोह इजेकेलले ४२औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पोखराका सुदिल राईले ६३औं मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। तर, ललितपुरका पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए र यही गोल निर्णायक बन्यो।
ललितपुरका कप्तान अनन्त तामाङ, सनिश श्रेष्ठ, आदित्य शाक्य लगायत विदेशी खेलाडी जेफ्री बाल्टुस, इमोह इजेकेल र पापा इबोउ केबेले लगातार दोस्रो पटक एनएसएलको उपाधि जितेका छन्।