काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान सरकारलाई बिचौलिया र भ्रष्टाचारीको संरक्षक भएको गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यो सरकार गैरजिम्मेवार र सुशासन विरोधी भएको दाबी गरेका छन्।
“अलिकति पनि राजनीतिक विवेक राख्ने र ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको छ,“ प्रचण्डले भने, “यो सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, र राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको छ।“
उनले सडकमा आन्दोलनरत शिक्षकहरूको मुद्दालाई लिएर सरकारको गैरजिम्मेवार रवैयाको आलोचना गरे। “देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ। एकातिर सडकमा लाखौँको सङ्ख्यामा आन्दोलनरत शिक्षकहरू छन्। झन्डै अब एक महिना हुन लाग्दैछ। तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो, त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैरजिम्मेवार ढङ्गले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ,“ उनले थपे।
प्रचण्डले शिक्षकहरूसँग भएका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने र नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका सहमति अनुसार माग पूरा गर्नुपर्ने र छोटो बाटोबाट ऐन दिनुपर्ने पक्षमा रहेको बताए। उनले राजावादीहरूको होहल्ला र रणनीति पूर्ण रूपमा असफल भएको दाबी गर्दै चैत्र १५ गतेपछि गणतन्त्रवादीहरू सफल भएको जिकिर गरे।