वीरगंज । पर्साको वीरगंज नाकासँग जोडिएको भारतको रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरिएको छ। राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई नक्कली नेटवर्किङ कम्पनीमार्फत बन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो।
भारतीय प्रहरीले गत मार्च २९ मा छापा मार्दा पक्राउ परेका ५६८ जनामध्ये यी किशोरहरू पनि थिए। उनीहरूलाई रक्सौलका दुई निजी अपार्टमेन्टमा वीनमेकर नामक नक्कली कम्पनीको नाममा राखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरू १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको छ।
पक्राउ परेका उनीहरूलाई दिल्लीस्थित सुधार गृहमा राखिएको थियो। किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उनीहरूको उद्धार सम्भव भएको हो।
बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारको जिम्मा लगाइएको छ। किन इण्डियाका प्रतिनिधि जोशीका अनुसार उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको थियो। कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै त्यहाँ पु¥याउने गरेको पाइएको छ। यस कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३