काठमाडौँ । संघीय संसद्का दुवै सदनको अधिवेशन आज शुक्रबार दिउँसो १ः०० बजेदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे जानकारी गराउनेछन्। बैठकमा नियमावली अनुसार बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने र विभिन्न राजनीतिक दलका नेताहरूले दलीय आधारमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्।
गत चैत १८ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो। यो अधिवेशनमा राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत् संसद्लाई सम्बोधन गर्नेछन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुने भएकाले यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ। वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र वैशाख २८ देखि प्रि-बजेट छलफल हुने सम्भावना छ।
अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयास हुनेछ। अधिवेशन सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ।