काठमाडौं । कश्मीरको पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा दुई दर्जनभन्दा बढी सर्वसाधरण मारिएपछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ। बीबीसीका अनुसार, भारतले दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने, ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने, पाकिस्तानी कूटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिनेलगायत कदम चालेको छ।
यद्यपि, पाकिस्तानी अधिकारीहरूले यस आक्रमणमा आफ्नो देशको संलग्नतालाई अस्वीकार गरेका छन्। पाकिस्तानी विदेशमन्त्रीले भारतको यो कदमविरुद्ध बिहीबार आफ्नो प्रतिकारात्मक कदम चाल्ने बताएका छन्।
भारत सरकारले यस घटनाप्रति कडा प्रतिक्रिया दिँदै पाकिस्तानलाई परोक्षरूपमा जिम्मेवार ठहराएको छ। भारतले लामो समयदेखि पाकिस्तानले यस क्षेत्रमा सशस्त्र समूहहरूलाई सहयोग गर्ने आरोप लगाउँदै आएको छ, जसलाई पाकिस्तानले लगातार खण्डन गर्दै आएको छ।
भारतले सन् १९६० देखि लागु भएको इन्डस वाटर ट्रिटी (सिन्धु नदी सन्धि) निलम्बन गर्ने घोषणा गरेको छ। यस सन्धिले सिन्धु नदी र यसका सहायक नदीहरूको पानी बाँडफाँड गरेको छ।
भारतीय सुरक्षा एजेन्सीहरूले कश्मीरको आक्रमणमा ‘कश्मीर प्रतिरोध’ नामक समूहको संलग्नता रहेको बताएका छन्।