बिरगंज । आज वैशाख ११ गते, देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यो दिवस विसं २०६२/६३ को जनआन्दोलनको सफलता र तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद पुनःस्थापना गर्दै आफू कार्यकारी प्रमुखबाट हटेको दिन, २०६३ वैशाख ११ गतेको स्मरणमा मनाइन्छ। यस दिन प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनको भावनालाई सम्मान गर्दै २०६३ वैशाख ११ गते संसद पुनःस्थापनाको घोषणा गरेका थिए। उनले राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको स्वीकार गरेका थिए। यसै घोषणासँगै २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।
जनआन्दोलनकै बलमा स्थापित लोकतन्त्रपछि दुईवटा संविधानसभाको निर्वाचनबाट गठित संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो। यस संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको छ र सोही बमोजिम संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई मुलुक संघीयताको अभ्यासमा छ।
विसं २०६२/६३ को आन्दोलनपछि निरंकुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो।