दक्षिण कश्मीरको कुलगाम जिल्लाको तङमार्ग क्षेत्रमा सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा बलले तङमार्ग क्षेत्रमा आतंककारीहरूको उपस्थितिको विशेष सूचना पाएपछि घेराबन्दी गरेको अधिकारीहरूले बताएका छन्।
यो मुठभेड जम्मू कश्मीरको अनन्तनाग जिल्लामा अवस्थित पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी हमलाको एक दिनपछि भएको हो। उक्त हमलामा २८ जना मारिएका थिए, जसमा अधिकांश पर्यटक थिए। मारिने २८ मध्ये २६ जनाको पहिचान भएको छ, जसमा दुई विदेशी र दुई स्थानीय नागरिक रहेका छन्। कोच्चिमा तैनाथ भारतीय नौसेनाका अधिकारी लेफ्टिनेन्ट विनय नरवाल पनि बिदामा रहेको बेला पहलगाम आक्रमणमा मारिएका थिए।
यसअघि रक्षामन्त्री राजनाथ सिंहले पहलगाम आतंकवादी आक्रमणको कडा प्रतिक्रिया दिने राष्ट्रलाई आश्वासन दिएका थिए। सरकारले यस भयानक आक्रमणका अपराधीहरू र उनीहरूलाई सहयोग गर्नेहरूलाई पनि खोज्ने उनले बताएका थिए।
मंगलबार दिउँसो आतंककारीहरूको समूहले भोजनालय र पर्यटकीय क्षेत्रमा घुमिरहेका पर्यटकहरूलाई गोली हानी हत्या गरेका थिए। सुरक्षा एजेन्सीहरूले यस आक्रमणमा संलग्न भएको आशंकामा तीन जना पाकिस्तानी नागरिक आसिफ फौजी, सुलेमान शाह र अबु तल्हाको स्केच जारी गरेका छन्। यो आक्रमण पाकिस्तानमा आधारित लश्कर(ए(तैयबाको छायाँ संगठन रेजिस्टेन्स फ्रन्ट (TRF) ले गरेको जिम्मेवारी लिएको छ। पहलगाम हमलापछि सुरक्षा बलले आतंककारीविरुद्ध कारबाही तीव्र पारेको छ।