काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ। पर्सि (बिहीबार) देखि सञ्चालन हुने भनिएको परीक्षा वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
यद्यपि, परीक्षा बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ। बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए। सोहीअनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ।
शिक्षकहरूको जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो।
मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई भेटेर परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए। यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको भए पनि शिक्षक आन्दोलनका कारण स्थगित गर्नुपरेको हो।