वीरगञ्ज । मंगलबार सेयर बजार ९.९६ अंकले घटेसँगै लगातार तीन दिनदेखि गिरावट आएको छ। आजको कारोबारपछि नेप्से परिसूचक २६८८.३२ अंकमा पुगेको छ। कारोबार सुरु भएको केही समयमै बजार बढे पनि अन्तिममा टिक्न सकेन।
बजारसँगै कारोबार रकममा पनि संकुचन आएको छ। अघिल्लो दिन ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३२ करोडको मात्र कारोबार भयो। आज ८६ कम्पनीको मूल्य बढ्दा १६० को घटेको छ भने एउटाको स्थिर रहेको छ।
आज अन्य समूहमा सबैभन्दा धेरै २.२१ प्रतिशतको वृद्धि देखियो। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स जस्ता ठूला कम्पनीको मूल्य बढेकाले यस समूहलाई टेवा पुगेको हो। होटल तथा पर्यटन समूह ०.७९ र उत्पादन समूह १.१८ प्रतिशतले बढेका छन्। बाँकी सबै समूहमा गिरावट आएको छ। लगानी समूह सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ।
बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशतले घटेका छन्।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७, ग्रिनलाइफ हाइड्रोपावरको ५.३० र नेपाल पुनर्बीमाको ४.८३ प्रतिशतले मूल्य बढेको छ।
उता, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। ङादी ग्रुपको ३.८८ र एचआईडीसीएलको ३.७९ प्रतिशतले घटेको छ।