काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारद्वारा गठित सिफारिस समितिमा खटिएका सदस्य विजयनाथ भट्टराईले आफ्नो पदबाट राजीनामा दिएका छन्। पूर्व गभर्नर समेत रहेका भट्टराईले गभर्नर चयनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै समितिबाट अलग भएको जानकारी गराएका छन्।
सरकारले केही समयअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। विश्वनाथ पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्यको रूपमा रहेका थिए।
अर्थ मन्त्रालय स्रोतका अनुसार, भट्टराईले गभर्नर छनौटको प्रक्रिया अगाडि बढ्न नसकेको र समितिको बैठक समेत बस्न नसकेको अवस्थामा आफू उक्त जिम्मेवारीमा रहिरहन सहज नभएको भन्दै राजीनामा पत्र बुझाएका हुन्। उनले छनौट प्रक्रियामा देखिएको सुस्तता र अन्य प्रक्रियागत विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेको बताइएको छ।
एक उच्च अधिकारीले अन्नपूर्ण पोस्टलाई दिएको जानकारी अनुसार, भट्टराईले समितिको काम कारबाही प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको महसुस गरेका थिए। पटक(पटक प्रयास गर्दा पनि समितिको बैठक आह्वान हुन नसकेपछि उनले राजीनामाको निर्णय लिएको बुझिएको छ।
भट्टराईको राजीनामाले गभर्नर नियुक्ति प्रक्रिया थप जटिल बन्न सक्ने अनुमान गरिएको छ। अब सरकारले सिफारिस समितिमा नयाँ सदस्य नियुक्त गर्नुपर्ने हुन्छ। यसअघि गभर्नर नियुक्तिका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा रहे पनि औपचारिक प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन।
नेपाल राष्ट्र बैंकको गभर्नरको पद केही समयदेखि रिक्त रहेको छ। यसअघिका गभर्नरको कार्यकाल सकिएपछि नयाँ गभर्नर नियुक्ति प्रक्रिया सुरु भएको हो। तर, सिफारिस समितिमा देखिएको यो घटनाक्रमले नियुक्ति प्रक्रियालाई थप लम्ब्याउन सक्ने देखिएको छ।
अर्थ मन्त्रालयले भट्टराईको राजीनामाबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। तर, मन्त्रालयका अधिकारीहरूले यस विषयमा छलफल भइरहेको र चाँडै नै आवश्यक कदम चालिने बताएका छन्।
अब सरकारले तत्काल नयाँ सदस्य मनोनयन गरी सिफारिस समितिलाई पूर्णता दिनुपर्ने चुनौती रहेको छ। त्यसपछि समितिले राष्ट्र बैंकको नयाँ गभर्नरका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउनेछ। भट्टराईको राजीनामाले गभर्नर नियुक्तिलाई लिएर विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ। यस घटनाले सरकारलाई गभर्नर चयन प्रक्रियालाई कसरी अगाडि बढाउला भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।