वीरगन्ज । आयात गरिएको वस्तुको गलत घोषणा गर्ने एक व्यापारिक फर्मलाई वीरगन्ज आईसीपी भन्सार कार्यालयले जरिवाना गरेको छ । वीरगन्ज आईसीपी भन्सार कार्यालयबाट झण्डै एक करोड भन्दा बढी जीरा आयात गर्ने आरएन इन्टरप्राईजेजलाई ७० लाख ३९ लाख नौ सय १४ रुपैंया जरिवाना गराएको छ ।
आरएन इन्टरप्राईजेजले ३ लाख १६ हजार ६१४ रुपैंयाको मात्रै प्रज्ञापनपत्रमा मूल्य घोषणा गरेर भन्सार पास गराउन खोज्दा सूचना बाहिरिएपछि भन्सार कार्यालयले निगरानी गरेको थियो । भन्सार जाँचपासका लागि थप परीक्षण गर्ने क्रममा गलत घोषणा गरेको पाईएको हो ।
भन्सार ऐन, २०६४ को दफा २० बमोजिम राजस्व, व्यापार, वस्तु वा अन्य क्रियाकलापको जोखिमलाई विचार गरी विभिन्न चार वटा मार्ग अनुरुप जाँचपास गर्न सकिने प्रावधान रहेको छ । रातो रंगको मार्गबाट पूर्ण सुरक्षित कागजपत्र सहित वस्तुको रुपमा भौतिक परीक्षण गरेपछि पुनः पीसीए गरिन्छ ।
त्यस्तै पहेंलो रंगको मार्गमा आयात निर्यातको कागजात पूर्ण रुपमा सुरक्षित परीक्षण हुने गरेको छ । यहि पहेंलो रंगको मार्गबाट जीरा पास गराउने क्रममा घोषित मूल्यभन्दा बढी सामान पास गर्न खोजेको पाईएपछि उक्त फर्मलाई जरिवाना गराईएको वीरगन्ज भन्सार कार्यालयले स्रोतले जनाएको छ ।
वीरगन्ज आईसीपी भन्सार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा उक्त जीरा पास गर्ने तयारी भएको स्रोतको भनाई छ । तर, सूचना चुहिएपछि भन्सार कार्यालयले आयात गर्ने फर्मलाई जरिवाना लगाएको छ ।
स्रोतका अनुसार उक्त फर्मले एकरोड भन्दा बढीको जीरा आयात गरेको थियो । त्यसमा मूल्य घोषणा भने ३ लाख १६ हजार ६ सय १४ को मात्रै देखाईएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयमा उक्त फर्मले गरेको गतिविधिको सूचना पाएपछि गरिएको निरीक्षणमा गलत घोषणा गरेको पाईएपछि जरिवाना गराईएको हो ।
वीरगन्ज आईसीपी भन्सार कार्यालयको खातामा ७० लाख ३९ हजार नौसय १४ रुपैंया दाखिला गरेको वीरगन्ज आइसीपी भन्सार कार्यालयले जनाएको छ ।