पोखरिया । ईलाका प्रहरी कार्यालय पोखरिया र नगर प्रहरी कार्यालय नजिकै रहेको पोखरिया बजारमा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै खुलेआम खसी तथा बाख्राको मासुमा पानी मिसाएर बिक्री वितरण भइरहेको पाइएको छ। स्थानीय बासिन्दाका अनुसार १० देखि १२ किलो तौल भएको खसी वा बाख्राको जिउँमा साइकलको टायरमा हावा भर्ने पम्पले हावा र पानी भरेर त्यसलाई १८ देखि २० किलोसम्म बनाएर बिक्री गर्ने गरिएको छ।
यति मात्र नभई, खसीको मासुसँगै मानव स्वास्थ्यका लागि हानिकारक मानिने विभिन्न अङ्गहरू समेत मिसाएर बिक्री गर्ने गरिएको स्थानीयले बताएका छन्। यसरी बिक्री गरिने मासुलाई सदरमुकाम वीरगञ्ज तथा राजधानी काठमाडौँलगायत नेपालका विभिन्न सहरहरूमा ‘छाटीएको मासु’ को नामले चिनिन्छ, जुन सामान्यतया बिक्री वितरण गरिँदैन।
बढी मुनाफा कमाउने उद्देश्यले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्। दर्ता बिना सञ्चालन भइरहेका यस्ता पसलहरूलाई अहिलेसम्म कुनै पनि निकायले कारबाही नगरेको आरोप उनीहरूको छ।
स्थानीय बासिन्दाले तत्काल यस विषयमा सम्बन्धित निकायले ध्यान दिई अनुगमन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। यसरी खुलेआम भइरहेको ठगी र स्वास्थ्यमाथिको खेलवाडलाई रोक्न स्थानीय प्रशासन र प्रहरीले तत्काल कदम चाल्नुपर्ने स्थानीय उपभोत्ताको माग छ ।