सिरहा । सिरहा नगरपालिकाले कमिसनको लोभमा नियम विपरीत संस्थागत विद्यालयहरूलाई तोकिएको पब्लिकेशनबाट मात्र पुस्तक खरिद गर्न उर्दी जारी गरेको पाइएको छ। जनप्रतिनिधि र कर्मचारीले पब्लिकेशनसँग मिलेमतो गरी संस्थागत विद्यालयहरूलाई पालिकाले तोकिएकै पाठ्यपुस्तक लागू गर्न बाध्य पारेको खुलासा भएको हो। गत चैत २० गते नगरपालिकाले सूचना प्रकाशित गरी पाठ्यपुस्तकमा एकरूपता कायम गर्न भन्दै ६ वटा तोकिएको पब्लिकेशनबाट मात्र किताब खरिद गर्न भनेको छ।
नगरपालिकाले तक्षशीला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदन्ता, रिडमोर र विद्यार्थी पब्लिकेशनबाट मात्र कक्षा १ देखि १० सम्मका किताब खरिद गर्न भनेको छ। कानुनतः संस्थागत विद्यालयहरू पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत जुनसुकै पब्लिकेशनबाट पुस्तक खरिद गर्न स्वतन्त्र हुन्छन् र विद्यार्थीहरू खुला बजारबाट पुस्तक, पोशाक लगायत सामग्री किन्न पाउँछन्।
तर, सिरहा नगरपालिकाका मेयर नवीन यादव र कर्मचारीहरूले पुस्तक व्यवसायीसँग २० देखि २५ प्रतिशतसम्म कमिसन लिएर संस्थागत विद्यालयहरूलाई तोकिएकै पब्लिकेशनबाट पुस्तक किन्न बाध्य बनाएको स्रोतले जनाएको छ। पब्लिकेशनहरूले पनि बढीमा २० प्रतिशतसम्म कमिसन दिनुपरेको स्वीकार गरेका छन्। मेयर यादवले गत आर्थिक वर्षदेखि नै यस्तो प्रयास गरे पनि प्याब्सनको विरोधका कारण सफल भएका थिएनन्।
प्याब्सन सिरहाका प्रतिनिधि लालबाबु रायले यस वर्ष पनि नगर शिक्षा समितिको बैठकमा मेयरको प्रस्तावको विरोध गरे पनि मेयरले बलपूर्वक नियम विपरीत यो निर्णय लागू गरेको बताए। सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको हस्ताक्षरमा जारी पत्रमा अवज्ञा गर्ने विद्यालयलाई कारबाहीको चेतावनी दिइएको छ। यद्यपि, यादवले पालिकाको यो कदम विद्यार्थी र अभिभावककै हितमा रहेको दाबी गरेका छन् र कमिसनको डिल गरेको कुरा अस्वीकार गरेका छन्।
यसैबीच, मिर्चैया नगरपालिकाले गत शैक्षिक सत्रमै यस्तै पब्लिकेशन तोकेर किताब लागू गरिसकेको छ। स्थानीय सरकारबाट शिक्षा क्षेत्रमा भएको यस्तो हस्तक्षेपले अभिभावक, विद्यार्थी र शैक्षिक संस्थाको स्वतन्त्रतामाथि अंकुश लगाएको अभिभावकहरूको भनाइ छ।