विरगंज । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुखहरू एकजुट भएका छन्। उनीहरूले यही वैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर विशेष भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा बसेको जिल्लाका पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान सञ्चालन गर्न सम्बन्धित पालिकाका विद्यालयहरूलाई निर्देशन दिने सर्वसम्मत निर्णय गरेको हो। बैठकमा सहभागी प्रमुखहरूले जस्तोसुकै अवस्थामा पनि विद्यार्थीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। शिक्षकहरूले विद्यालय बन्द गरेर आन्दोलन गर्दा पठनपाठनमा बाधा पुगेको भन्दै उनीहरूले भर्ना अभियानलाई तीव्रता दिनुपर्ने बताए।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लगाएर विद्यार्थीलाई शिक्षाबाट वञ्चित गराउनु उचित नभएको बताए भने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जायज मागको समर्थन गर्ने तर संविधानविपरीतका माग स्वीकार्य नहुने बताए। ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले शिक्षक आन्दोलनका कारण विद्यार्थी शिक्षाबाट वञ्चित भए त्यसको अपजस स्थानीय तहलाई आउने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आधारभूत र माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई भएको स्मरण गराउँदै भर्ना अभियानलाई घरघरसम्म पुर्याउन सबै पालिका प्रमुख एकमत भएको बताए। उनले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको अवस्थामा विद्यालय बन्द गरेर आन्दोलन गर्नु उचित नभएको धारणा राखे।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले काठमाडौं केन्द्रित आन्दोलनमा सीमित शिक्षक मात्र सहभागी भएको र अधिकांश शिक्षक गाउँमै रहेकाले विद्यालय सञ्चालन गर्नुपर्ने बताए।
पालिका प्रमुखहरूको यो सक्रियताले पर्सा जिल्लामा भर्ना अभियान निरन्तर रहने र विद्यार्थीहरूको पठनपाठनमा बाधा नपर्ने विश्वास गरिएको छ।