बर्दिवास। विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले प्रतिशोधपूर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खबरदारी -याली गरेका छन्।
सरकारले लोडसेडिङलाई प्रोत्साहन गर्ने उद्देश्यले घिसिङलाई हटाएको आरोप लगाउँदै वेथितिका विरुद्ध एकजुट हुन आह्वान गरिएको थियो। बर्दिवास उद्योग वाणिज्य संघ, जनजाति महासंघ लगायतका संस्थाहरूको आयोजनामा भएको -याली बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले यो खबरदारी सरकारको पक्ष वा विपक्षमा नभई वेथितिका विरुद्ध भएको बताए। उनले कुलमानलाई हटाएपछि अघोषित लोडसेडिङ भएको दाबी गर्दै जनप्रतिनिधिहरूले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपूर्ण ढंगले लोडसेडिङतर्फ उन्मुख भएको भन्दै आक्रोश व्यक्त गरे। जनजाति महासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको भन्दै अन्यायको विरुद्ध पार्टीभन्दा माथि उठ्न आग्रह गरे।