वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साको १८ औं स्थापना दिवस सम्पन्न भएको छ । शान्ति, सुरक्षा र प्रतिबद्धताको मूल उद्देश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा स्थापनाको १८ बर्ष पूरा भएको अवसरमा स्थापना दिवस मनाईएको हो ।
गणको कभर्ड हलमा विशेष कार्यक्रमको आयोजना गरि मनाईएको स्थापना दिवसका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले शुभकामना व्यक्त गरे ।
उनले सशस्त्र प्रहरी बलले देश र राष्ट्रको सुरक्षाको साथै सीमाक्षेत्रबाट हुने अवैध चोरी, तस्करी तथा विपद जोखिममा उद्दार तथा राहत वितरणमा सक्रिय भूमिका खेलेको बताए ।
सशस्त्र प्रहरीका सकल दर्जालाई देश र राष्ट्रका लागि अझ धेरै समपर्ण त्याग गर्नुपरेपनि सशस्त्र प्रहरी तयार रहेको बताउदै मातहतका सशस्त्र प्रहरी युनिटहरुलाई आफ्नो कर्तव्य पालनामा दृढ रहन निर्देशन पनि दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सीमा सुरक्षामा विशेष भूमिका सहित स्थापित सशस्त्र प्रहरीले राष्ट्र र जनताको लागि सदैव समर्पित भएर काम गरेको सशस्त्र प्रहरीले पर्सामा स्थापनाको १८ औं बर्ष पार गरेकोमा बधाई तथा शुभकामना दिए ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सशस्त्र प्रहरी पर्साले स्थापनाको १८ औं बर्ष पूरा गरिरहँदा संगठनले गरेका कार्यप्रगति तथा उपलब्धिहरुको बारेमा जानकारी गराएका थिए ।
स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरु, विभिन्न सहयोगी दाताहरुलाई कार्यक्रममा कदरपत्र सहित सम्मान गरिएको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न राष्ट्रभक्ति गीत सहितको सांगितिक प्रस्तुतीले उपस्थित अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।