७ वैशाख, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। उनीहरू माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन्।
अघिल्ला दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन्।
उनीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन्। यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरूले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन्।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्। सरकारसँग लगातार वार्ता भए पनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरी सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन्।
शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।