वीरगंज । वीरगंज महानगरपालिकाले वर्षायाम नजिकिएसँगै बजार क्षेत्रमा हुनसक्ने डुबानको समस्यालाई मध्यनजर गर्दै मुख्य नाला सफाईलाई तीव्रता दिएको छ। हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नालालाई पूर्ण रूपमा सफा गर्ने कार्य धमाधम भइरहेको महानगरपालिकाले जनाएको छ।
छपकैयास्थित पानी प्रशोधन केन्द्रको उत्तरी भेगमा सफाई कार्य सम्पन्न भएपछि हाल दक्षिणतर्फ भन्सार क्षेत्रसम्म नाला सफाइको काम जारी छ। महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेदेखि नै पूर्व तयारी स्वरूप मुख्य नाला सफाईलाई प्राथमिकता दिइएको बताए। उनले मुख्य नालासँगै सहायक नालाहरूको सफाई कार्य पनि समानान्तर रूपमा भइरहेको जानकारी दिए।
महानगरपालिकाले नाला सफाईका लागि तीनवटा स्काभेटर र थप एउटा चेन स्काभेटर परिचालन गरेको छ। स्काभेटर प्रयोग गर्न नमिल्ने साँघुरो ठाउँमा जनशक्ति नै परिचालन गरी सफाई कार्यलाई तीव्रता दिइएको प्रमुख सिंहले बताए। नाला सफाईको अनुगमन गर्दै उनले भने, “नालाको आधाभन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रूपमा बग्न सकेको थिएन।
सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भएपछि अब वीरगंज डुबानबाट जोगिनेछ।” विगतमा पनि नियमित सफाई गरिएको कारण पछिल्लो दुई वर्षदेखि वीरगंज डुबानमुक्त रहेको दाबी गर्दै उनले मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्म सफाई कार्य जारी रहने बताए।
महानगर प्रमुख सिंहले नगरवासीलाई नालामा जथाभावी फोहर नफाल्न आग्रह गरेका छन्। “सरसफाईमा नागरिक सहभागिता जरुरी छ। महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,” उनले भने, “नागरिकमा चेतना र जागरण आवश्यक छ। हामीले जनचेतना फैलाउने काम पनि गर्छौं र पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं।”
महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानका अनुसार मुख्य नाला सफाईका लागि दैनिक चारवटा स्काभेटर र २५ जना सफाईकर्मी खटिएका छन्। मुख्य नालाको निरन्तर सफाईले विगत दुई वर्षदेखि वीरगंज बजार क्षेत्र डुबानमुक्त बनेको उनको भनाई छ।