बुटवल–११ बुद्धनगरमा आज एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार टिका विष्ट क्षेत्री नाम गरेकी युवतीको कम्मरमाथि गोली लागेको छ र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि कसले र किन गोली प्रहार गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए।
स्थानीयले केही दिनअघि विष्टको एक भारतीय नागरिकसँग विवाद भएको बताएकाले प्रहरीले उनको संलग्नताको आशंकामा अनुसन्धान थालेको छ। प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।