१ बैशाख, विरगञ्ज । सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८२ को पहिलो दिन दुर्लभ फूलको दर्शन गर्न बिहानैदेखि सर्वसाधारणको ठूलो भिड लागेको छ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सलहेश फूलबारीमा बैशाख १ गते मात्र फुल्ने हारम जातको रुखको फूल हेर्न नेपाल र भारतबाट लाखौं दर्शनार्थी भेला भएका छन्। स्थानीय हरिभक्त चौधरीका अनुसार राजा सलहेश र मालिनीको प्रेम प्रतीक मानिने यो फूल हेर्न वर्षौंदेखि भक्तजन आउने गरेका छन्।
मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीचको प्रेम सम्बन्ध र त्यसको प्रतीकको रूपमा बैशाख १ गते मात्र सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको बताए। तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने, सन्तान प्राप्ति हुने र विभिन्न रोगब्याधि निको हुने विश्वास पनि रहेको छ। फूलबारीमा दुर्लभ जडीबुटीहरू समेत पाइन्छन्।
प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फुल्ने यो फूल र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही लगायत भारतका सीमावर्ती गाउँहरूबाट मानिसहरूको घुइँचो लागेको छ।
यस वर्ष मेलालाई व्यवस्थित गर्न फूलबारी क्षेत्रभित्र सामान बेच्न प्रतिबन्ध लगाइएको छ भने दर्शनार्थीको सहजताका लागि बाहिर स्टलहरू निर्माण गर्न दिइएको छ।